थामिएन आँसुको भेल,नौ घन्टा पुरिएकी डेढ वर्षीया बालिका सकुशल
सुर्खेत,भदौ३–साटाखानीकी सुमित्रा दमार्इंले बाढीले बगाएको डेढ वर्षीया छोरीको माया मारिसकेकी थिइन्। नौ घन्टासम्म पुरिएकी छोरी फेला परेपछि उनको खुसीको सीमा रहेन।बेहोस अवस्थामा भेटिएकी छोरी अहिले पनि बान्ता गरिरहेकी छन्। अनुहारमा लागेको घाउ निको भएको छैन। त्यही बाढीमा बेपत्ता १० वर्षीया जेठी छोरी र सासू भने अझै भेटिएका छैनन्।
‘गाउँमा हेलिकप्टर गएपछि आज .सोमबार ढिलै भए पनि भगवान भेटिएजस्तो लागेको छ,’ चार दिनपछि सोमबार हेलिकप्टरमा वीरेन्द्रनगर ल्याइएकी उनले भनिन्, ‘यो घाइते छोरीको उपचार र हराएका छोरी–सासूलाई खोजेर भेटाइदिए केही राहत हुने थियो।’१३ वर्षीया कमला भण्डारीलाई बाढीपहिरोले गाउँमा वितन्डा मच्चाएको त थाहा थियो, तर आफ्नो घरभित्र यति ठूलो पीडा भित्रिएको कल्पनासम्म थिएन। हरिहरपुर गाविसको पाग्मस्थित विजयेश्वरी उमाविनजिकै डेरामा बसेर पढिरहेकी उनले घरको अवस्थाबारे धेरैसँग सोधपुछ गरिन्। प्राय सबैले ‘केही भएको छैन, बाआमा सन्चै छन्’ भनेर जवाफ दिए।
घटनाको चार दिनपछि सरकारी हेलिकप्टर राहत लिएर गाउँ पुगेपछि भने उनी छाँगाबाट खसेजस्तो भइन्। ‘गाउँका मान्छेले आज बिहानमात्रै तेरा बाआमालाई भेरीले बगायो भनेर सुनाए,’ उनले भनिन्,‘बेहोस अवस्थामै हेलिकप्टरमा हालेर सुर्खेत ल्याए, कता जाने के गर्ने केही थाहा छैन।’
हरिहरपुर–५ सिस्नेरीमा बिहीबार राति भेरी नदीमा आएको बाढीले उनका बुबासँगै दुई आमा (सौतेनीसहित) लाई बगायो। दाइ कामका लागि भारत र भाउजू वीरेन्द्रनगर भएकाले बचे। कमला बसेको ठाउँमा पनि बाढी नआएको होइन। तर, भागेर माथि गएपछि ज्यान जोगियो। ‘बाआमाले यसरी छाडेर जानुहोला भन्ने कहिल्यै सोचेकी थिइनँ,’ गहभरि आँसु झार्दै उनले भनिन्, ‘के–के भयो, भयो ….’
जिल्लाका विभिन्न ठाउँमा एकैपटक गएको बाढीपहिरोले कमला र सुमित्राजस्ता धेरैको जीवनमा कहिल्यै नपुरिने घाउ बनाएको छ। मर्ने त मरेर गए, बाँच्नेलाई वियोगको पीडाले सताइरहेको छ। जिन्दगीभर कमाएको धनसम्पत्ति र घरजग्गा सबै बग्दा उनीहरूको भविष्य अन्योलमय भएको छ। आकजो नागरिक दैनिकमा खबर छ ।
0 comments