सुनकोशी नदीको तलाउ घटेन, पहिरो खस्नेक्रम जारी

8:10 PM | 0 comments

पहिरोले थुनिएर बनेको तलाउ। तस्बिर : ध्रुव दंगालपहिरोले थुनिएर बनेको तलाउ। तस्बिर : ध्रुव दंगाल
१२ घन्टा सुनकोशी थुनिएर बनेको तलाउ अझै घटेको छैन। स-साना पहिरो जानेक्रम जारी रहेको सिन्धुपाल्चोकस्थित नागरिकन्युजकर्मी ध्रुव दंगालले जनाएका छन्। शनिबार दिउँसो नेपली सेनाले बम विसष्फोट गराएर साविक पानी नदीमा बगाउन सकेको थियो। त्यति नै पानी अहिले पनि बगिरहेको छ। साविक पानी नदीमा बगेपनि जमेको पानीको सतह घटेको छैन।
पहिरो खस्नेक्रम जारी रहेपनि अवरोध भने नगरेको डीएसपी भरत बोहोराले बताए। उनका अनुसार रातभरि अविरल वर्षा भएपनि धमिलो पानी संगलिएको छ। 
त्यस्तै तलाउलाई विस्तारै सुरक्षितरुपमा खोल्न सुरक्षा निकाय जुटेको प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बताए। उनका अनुसार घटनापछि आसपासका क्षेत्रलाई संकटकाल घोषणा गरिएको छ। नदी किनार आसपासका वस्ती खाली गरिएका छन्। 
पीडित स्थानीय बासिन्दा राजधानी, माथिल्लो भूभाग र आफन्तकहाँ बसेका छन्। कहीले भने आफ्नै घरमा रात कटाएका छन्। ५० जनाले लामोसाँघु जिरीको सडकखण्डस्थित थुनपाखरमा रहेको गैरसरकारी संस्था टुपिसंघमा रात बिताए।
लामोसाँघुस्थित सशस्त्र प्रहरी बेसक्याम्पमा गएराति दुई सय जनालाई खाने व्यवस्था गरिए पनि २० जनामात्र उपस्थित भए। अझै पनि केही प्रभावित कतै जान सकेका छैनन्। उनीहरुले राजधानी पुर्‍याउन माग गरेका छन्। सम्भावित खत्रालाई मध्यनगर गर्दै स्थानीय प्रशासनले अरनीको राजमार्गमा कुनै सवारीसाधन चल्न दिइएको छैन।
प्रभावितको मागअनुसार उनीहरुलाई राजधानी पुर्‍याउन यातायात ब्यवसायीसँग आग्रह गरिएको प्रजिअ पराजुलीले बताए। उनका अनुसार आइतबार बिहानैदेखि पहिरोमा बेपत्ता भएका भनिएकाहरुको खोजीकार्य सुरु भएको छ। 'पहिरोमा कति घर परेका हुन्। त्यसको यकिन तथ्यांक संकलन गर्ने प्रयास भइरहेको छ। पहिरो पीडितलाई आजै राहत वितरण गरिनेछ,' उनले भने।

सिन्धुपाल्चोक अन्धकारमय
पहिरोले चार वटा ट्रान्समिसन टावर बगाउँदा विद्युत आपूर्ति ठप्प भएको छ। दुई दिनदेखि सिन्धुपाल्चोक अन्धकारमय बनेको छ। यसको प्रभाव मुलुकभरि नै परेको छ।
सुनकोशी जलविद्युत केन्द्रमार्फत् स्थानीय ५ आयोजनाबाट उत्पादित करिब ६८ मेगावाट विद्युत आसपासका जिल्ला र राजधानीमा समेत आपूर्ति हुन्छ। पहिरोमा परेको ट्रान्समिन टावर ३६ मेगावाटको भोटेकोशी आयोजनाको हो। यही लाइनमार्फत् अन्य योजनाको उत्पादन पनि ल्याइन्थ्यो।

शनिबार बिहान गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। २३ जना घाइते भएका छन्। सयौं मानिस बेपत्ता छन्। घाइतेहरुको उपचार राजधानीका विभिन्न अस्पतालमा भइरहेको छ।
- See more at: http://nagariknews.com

Category: , ,

0 comments