डन चरी' को बारेमा गगन थापा यसो भन्छन् (भिडियो सहित)

12:23 AM | 0 comments

रीको प्रकरणसँगै हाम्रा अगाडि चार प्रश्न आएका छन् । पहिले हामीले जुनखालको लोकतान्त्रिक सभ्य समाज निर्माण गर्न चाहेका छौं, त्यसका केही न्यूनतम अपेक्षाहरु छन्, त्योअनुरुप सबैले पूरा गर्नु पर्ने जिम्मेवारी पनि छन् ।
त्यसको आधारभूत सर्त भनेको कानूनको शासन हो । अर्थात कानुनले परिभाषित गरेको भन्दा बाहेकका विषयमा उचित लागे पनि, अनुचित लागे पनि आफ्नो भवनाले ठीक हो भन्दाभन्दै पनि यो गर्न मिल्दैन ।नेपालको सन्दर्भमा हामीले कुनै पनि अपराध भयो भने कसरी दण्डित गर्ने भन्नेमा ऐन, नियम कानुनले प्रष्ट परिभाषित गरेको छ । त्यो कुरालाई लिएर हाम्रोमा त्यो परिधिभन्दा बाहिर नागरिक पनि जान मिल्दैन, राज्यका संयन्त्रहरु पनि जान मिल्दैन । त्यो परिधि बाहिर गएको हो कि होइन, जाने प्रवृत्ति बन्यो भने के गर्ने भन्ने छलफल गर्न आवयक छ ।
दोस्रो, कानुनको शासनको परिभाषाले के पनि गर्छ भने राज्यका केही निश्चित संयन्त्रहरुलाई कानुनको सीमा भित्र रहेर बल प्रयोग गर्ने अधिकार पनि दिएको हुन्छ । त्यसको बल प्रयोग गर्ने आधारभूत अधिकारमाथि नै निरपेक्ष ढंगले प्रश्न गर्ने र अंकुश लगाउन थाल्ने हो भने त राज्यका निकायहरु पंगु हुन्छन् । त्यो सधैं एउटा डरको छहारीमा बस्छ । आफूले प्राप्त गरेको अधिकारसमेत प्रयोग गर्न सक्दैन ।
नेपाल प्रहरीले पनि त निश्चित अवस्थामा बल प्रयोग गर्ने अधिकार पाएको छ । यो प्रकरणमा पनि बल प्रयोग गरेको अवस्था हो भने यसबारे हामीले प्रहरीलाई लान्छित गर्ने, प्रहरी अधिकारी र सिंगो संगठनको मानमर्दन गर्ने कुरा त कानुन शासनअनुरुप जुन समाज निर्माण गर्न खोजिएको छ त्यो अनरुप व्यवहार हुँदैन । किनभने राज्यको संयन्त्रले बल प्रयोग गर्ने अधिकार राख्छ भन्ने डरले पनि अपराधलाई दुरुत्साहित गर्छ । गर्दैन भन्ने भयो भने त अपराध प्रोत्साहित हुन्छ । यसलाई पनि संगै रोखेर हेर्नुपर्छ ।
तेस्रो र सबैभन्दा महत्वपूर्ण भनेको हाम्रो सामु आएको छ । को मर्‍यो र कसरी मर्‍यो भन्दा पनि चरीजस्तो यति धेरै संगठित अपराधमा क्रियाशील भएका मानिसहरु निर्धक्कताका साथ कसरी एउटा पार्टीको सदस्यता बोकेर हिँडिरहेका छन् ? र निर्लज्जताका साथ कसरी हामी उनीहरुलाई हाम्रो पार्टीको सदस्य हो भनिरहेका छौं ? यो एउटा पार्टीको कुरा मात्र होइन, यो पार्टी त्यो पार्टी भन्नु भनेको भाग्ने कुरा मात्र हुन्छ । यो हाम्रो निम्तिको लज्जाको विषय भयो ।
हामीले अब स्वीकार गर्नुपर्ने बेला आएको छ कि यो हाम्रो गल्ती कमजोरी हो । चरीजस्ता अपराधीहरुले सानो-सानो अपराध गर्दै गर्दा संरक्षण गर्ने, आफ्नो अनुकुलतामा प्रयोग गर्ने काम नगरेको भए सायद आज यो घटना हुँदैन थियो होला । जुनसुकै कारणले होस् । ऊ बन्दुक बोकेर प्रहरीमाथि नै जाइलाग्छ भने त्यो मनोविज्ञान उसले बोक्दैन थियो होला । नबोकेको भए मारिँदैन थियो होला । जुन अपराध गरेको हो त्यसमा दण्ड पाउँथ्यो र समाजमा पुनःस्थापित हुन्थ्यो होला । यसरी हेर्दै गर्दा कतै चरीजस्ता मान्छेहरुलाई उनीहरुले मृत्युवरण गर्ने अवस्थासम्म पुर्‍याउने कुरामा अप्रत्यक्षरुपमा हाम्रो संरक्षणले यो परिणाम लिएर आयो कि भनेर आत्मसमीक्षा गर्नुपर्ने अवस्था आयो ।
अहिले तलदेखि माथिसम्म हेर्ने हो भने यस्ता हजारौं मान्छेले हाम्रो पार्टीका तर्फबाट संरक्षण पाएको अवस्था छ । सुरुमा केही मानिसहरुको प्रवृत्तिका कारण प्रारम्भ भयो तर, विस्तारै पार्टीकै प्रवृत्तिका रुपमा लिन थालियो र समान्य रुपमा लिन थालियो ।
मलाई के लाग्छ भने पार्टीको महाधिवेशनबाट महिला हिंसामा संलग्नलाई सदस्यता दिन्नौं, छुवाछुत गर्नेलाई पनि दिन्नौं भन्ने छ । दिएको छ भने पनि निकाल्छौं भनेको छौं । पार्टीहरुले संकल्प गर्नेबेला आयो कि यस्तो संगठित अपराधमा लाग्ने कुनै पनि मानिसलाई हामी सदस्यता दिनौं । सदस्य भएकालाई पनि निकाल्छौं । यो संरक्षण दिनौं र अपराधको राजनीतिकरण गर्ने कुरालाई कुनै पनि हालतमा प्रश्रय दिन्नौं ।
अब नेपालमा चरीको प्रकरणजस्तो अवस्थासम्म पुग्न दिनौं भनेर नेपालका पार्टीहरु भन्नुपर्छ । चरी प्रकरणले एउटा संकेत दिएको छ, यसलाई बुझ्नुपर्छ ।
चौथो भनेको हाम्रो ऐन नियमले जुनखालको प्रवन्ध गरेको छ । सामान्य झै झगडामा लगाउने जस्तो सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाउनुपर्ने । अहिले पछिल्लो समयमा संगठित अपराध वा सम्पत्ति शुद्धीकरणसम्वन्धी ऐनहरु पारित गरेता पनि त्यसभित्र भएका प्रवन्धहरु नेपालको हाम्रो विशिष्ट अवस्थामा भइरहेको संगठित अपराधलाई सम्बोधन गर्ने आएको होइन, अन्तराष्ट्रिय मान्यताहरुमा टेकेर आएको छ ।
नेपालको सन्दर्भमा जेखालको समस्या भोगिरहेका छौं । यसलाई लिएर एउटा छुट्टै ऐनको प्रवन्ध गर्ने बेला आयो । यस्तो संगठित अपराध गर्नेहरुलाई उचित अनुसन्धान गरेर र उनीहरुले पाउने दण्डबाट उम्किन नपाउने गरी समान्य राजनीतिक पहुँचका आधारमा र कानुनको अभावमा उम्कन नपाउने र सुध्रने हो भने सुध्रने अवस्था निर्माण गर्ने गरी छुट्टै ऐन बनाउने बेला आयो ।

संसदको मञ्चको दुरुपयोग नगरौं

हामीले संसदको मञ्च बेलाबेला दुरुपयोग गर्ने गरेका छौं । योपटक पनि कुरा उठ्यो, सरकारले जवाफ दिइसक्यो । एउटा नागरिकको विषयमा सदनको ध्यानाकर्षण हुनुपर्छ र भइसक्यो ।
तर, सदन नै चल्न दिँदनौं, यो बाहेक अरु कुनै विषय छैन भन्ने ढंगबाट त्यो मञ्च प्रयोग हुनु गलत हो । अर्को कुरा तर, धेरै सभासदहरुको चासो सुनकोशी नै छ, संखुवासभा छ । सदनको केही मान्छे चासो मात्र चरी छ । तीनै दुई चारजना मान्छेको चासो नै सदनको चासोको रुपमा बाहिर प्रस्तुत हुन्छ भने एक त जननिर्वाचित संस्थाप्रतिको विश्वास, भरोसा एकदमै पातलो हुँदै गएको छ । यस्ता घटनाले जननिर्वाचित संस्थाप्रतिको आशा नै टुट्दै जान्छ ।

सुनकोशीमा संसदले चासो दिएको छ

सुनकोशीसहित अरु पहिरोको विषयमा सदनमा आवाज नै उठेन भन्ने बाहिर टिप्पणी भएको छ । मैले सदनमा बसेर हेर्दा त्यस्तो देखिँन । किनकि त्योबेला सबै एक आउँमा आएर गाली गलौचभन्दा पनि सरकारलाई कसरी काम बढी काम गराउने भन्ने भएको छ । अहिले राहत पुगेन, बढाउन लगाउने भन्ने भएको छ । संवेदना नै देखाएन भन्नु भनेको जनप्रतिनिधिहरुको बारेमा निरपेक्ष ढंगबाट यीभन्दा कमजोर धरातल भएका मान्छेहरु कोही छैनन् । सबैभन्दा मानवीय संवेदना नभएका यिनै हुन् ।
सोलोडोलो रुपमा यो संस्था नैतिक हिसावले पनि कमजोर, ज्ञानका हिसावले पनि कमजोर भनेर मान्नु भनेको त्यो संस्थाको मात्र होइन, आफ्नै माननर्दन हो । किनकि हामीले नै छानेर पठाएका जनप्रतिनिधि नै हुन् । तर, जहाँसम्म यस्तो घटना भइरहेका बेला चरीका विषयलाई लिएर सम्वन्धित निर्वाचन क्षेत्रका सांसदले उठाउने कुरालाई स्भाविक मान्न सकिएन । तर, सिंगो देश नै पीडित र स्तब्ध भएका बेलामा सदनको बैठक नै एउटा विषयमा मोडिँदा स्वभाविक रुपमा आक्रोष पैदा गरेको छ ।
प्रस्तुती-राजकुमारश्रेष्ठ(onlinekhabar) 

Category: , ,

0 comments