देशैभरी चर्चित उज्यालो नाइन्टी नेटवर्क रित्तियो,एकै पटक २४ ले छोडे,१० करोड पाए बेच्ने

10:46 PM | 0 comments

ललितपुर,२९ साउन ।  देशैभरी चर्चित रेडियोको छवि बनाएको उज्यालो नाइन्टी नेटवर्क रित्तिएको छ । २ महिनादेखी सेवा सुविधा बृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका कर्मचारीको माग पूरा नगरी उनीहरुलाई बिदा गर्न उज्यालोको व्यवस्थापन तयार भएपछि त्यहाँ कार्यरत २४ जना पत्रकारहरुले एकै साथ जागिर छोडेका छन् । जागिर छाड्नेमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरु माधव दुलाल ,रोशन पुरी र दीपेन्द्र कुवँरसमेत रहेका छन् ।

न्यूनतम सेवा सुविधाको माग गरिरहेका कर्मचारीहरुको माग पुरा नगरीकन “गोल्डेन हेण्डसेक” मार्फत सबैलाई बिदा गर्न व्यवस्थापन तयार भएपछि २४ जना पत्रकारहरुले जागिर छोडेका हुन् । उज्यालो छोड्नेमा पत्रकार महासंघको प्रतिष्ठानका अध्यक्ष श्रीधर पौडेल, कमल पराजुली, लक्ष्मण कार्की, सूर्यकुमार क्षेत्री, बोमलाल गिरी,हिम विष्ट,सबिन मिश्र,बिनोद ढकाल,सुफल काफ्ले लगायत छन् । त्यस्तै समाचार प्रमुख सुनील न्यौपानेले पनि जागिर छोड्ने मनाशय बनाएका छन् ।  । अब उज्यालोमा एक्ला मिलन तिमिल्सिना र केही नयाँ कर्मचारीहरु मात्रै बचेका छन् ।
स्रोतका अनुसार पत्रकार महासंघको उज्यालो नेटवर्क प्रतिष्ठान र व्यवस्थापनकाबीचमा भएका आधा दर्जनबढी बैठकहरुमा व्यवस्थापन लचिलो नबनीकन कर्मचारी कटौतीको लागिमात्रै लागि परेको थियो ।
व्यवस्थापनले माग पुरा नगरेपछि पत्रकारहरुले नै माग पूरा नगर्ने भए “गोल्डेन हेण्डसेक” सहित बिदा गर्न भनेपछि सहमतिमै २४ जनाले जागिर छाडेका हुन् । तर आन्दोलनको उद्देश्य जागिर छोड्नु नभई उज्यालोमै रहीरहनु भएपनि जबरजस्ती निकाल्ने प्रयास भएकाले गोल्डेन ह्याण्डसेकमा सहमति भएको हो । विश्वस्त सुत्रका अनुसार जागिर छोडेका पत्रकारहरुले काम गरेको अवधीको आधारमा आगामी दसैंको भत्तासहित पैसा पाउनेछन् । सामान्य हिसाब किताबमा जागिर छोडेकाहरुको हातमा घटीमा १ लाखदेखी बढीमा ९ लाख रुपैयाँ सम्म पर्ने देखिन्छ ।
यसैबीच, कर्मचारी कटौतीसंगै उज्यालो नेटवर्कले आफ्ना बुलेटिनहरु पनि घटाउदैछ । उज्यालोमा लगानी रहेका भीमसेन राजवाहक पनि उज्यालोबाट बाहिरिने भएपछि गोपाल गुरागाई एक्लै उज्यालो हाक्न कस्सिएका छन् । स्रोतका अनुसार गोपाल बाहेक उज्यालोमा मन्टेश्वरी राजभण्डारी सहित अन्य केहीको लगानी रहेको थियो ।
बितेका वर्षहरुमा कर्मचारीप्रति अत्यन्तै मिलनसार र सहयोगी पहिचान बनाएका गोपाल गुरागाईले अकस्मात सबै कर्मचारी निकाल्न तयार हुनुमा उनका भाई कृष्ण गुरागाईको उक्साहटले काम गरेको बताइन्छ । त्यसो त विभिन्न गैर सरकारी संस्थामार्फत प्राप्त पैसाका कारण ललितपुरमा आफ्नै भवन बनाउन सफल उज्यालो नाइन्टी नेटवर्ककै सञ्चालक नै स्वयं १० करोड पाए घरसहित नेटवर्क बेच्ने कुरा गर्दै हिड्न थालेको खबर समाज खबरले छापेको छ ।

Category: , ,

0 comments