४० बढी संख्यामा आएका चरी समर्थहरुले गृहमन्त्री बामदेव गौतमको निवास घेरे
काठमाडौं- दिनेश अधिकारी 'चरी'को सुनियोजित हत्या भएको भन्दै एमाले नेताहरुसहित उनका समर्थकहरु गृहमन्त्री निवास पुगेका छन्। एमाले सभासद् गंगालाल तुलाधार, राजेन्द्र पाण्डे र धादिङका एमाले कार्यबहाक अध्यक्ष भूमि त्रिपाठीसहित १५ जना नेताहरुले गृहमन्त्री बामदेव गौतमलाई चरीको भिडन्तमा नभइ सुनियोजित हत्या भएको जानकारी गराएको स्रोतले जनाएको छ। त्यस्तै ४० बढी संख्यामा चरीका समर्थकहरुले गृहमन्त्री निवास घेरेका छन्।
जवाफमा गृहमन्त्रीले पृष्ठभूमिका आधारमा प्रहरीले खोजी गरिरहेको बताएका छन्। उनले प्रहरीले कानुन विपरित काम गरेको पाइए कारबाही गरिनेसमेत उनका परिवारजनलाई आश्वासन दिएको स्रोतले बतायो।
राजेन्द्र पाण्डे र अध्यक्ष त्रिपाठी समय-समयमा चरी संरक्षकको रुपमा चर्चामा आएका एमाले नेताहरु हुन्। दोस्रो संविधान सभामा समेत उनले धादिङको निर्वाचनमा सहयोग गरेका थिए।
यता उनको शव त्रिभुवन शिक्षण अस्पताल महारजगञ्जमा राखिएको छ। उसका आफन्त र समर्थक त्रिवि वरपर घुमिरहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम कार्कीका अनुसार प्रहरीले पोष्टमार्टमका लागि आवश्यक सम्पूर्ण कागजात बुझाइसकेको छ। तर, अहिलेसम्म उनको पोष्टमार्टम सुरु भएको छैन।
हत्याप्रयासको अभियोगमा फरार रहेका चरी बुधबार प्रहरीसँगको मुठभेडमा मारिएका थिए। सातमहिनादेखि फरार उनी बुधबार साँझ ५ बजे काठमाडौं, भीमढुंगाको नर्सरी सामुदायिक वनको सडकमा मारिएका हुन्। आफूलाई पछ्याउँदै आएको प्रहरी टोलीमाथि गोली हानेका चरी प्रतिकार फायर गर्दा मारिएको प्रहरीको दाबी छ।
- See more at: http://www.nagariknews.com
0 comments