क्रस फायरिङ'मा नै अधिकारीको मृत्यु भएको गृहमन्त्रीको जवाफ
काठमाडौं, श्रावण २३ - उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले डन दिनेश अधिकारी 'चरी'को 'क्रस फायरिङ'मा नै मृत्यु भएको प्रस्टिकरण दिएका छन् ।
संसदमा शुक्रबार जवाफ दिंदै गौतमले विभिन्न अपराधमा संलग्न अधिकारीलाई शंकास्पद अवस्थामा भेटेपछि सोधपुछ गर्नेक्रममा प्रहरीमाथि नै फायरिङ गरेपछि जवाफी कारबाहीमा मारिएको उनले दाबी गरे ।
'काठमाडौंबाट भीमढुंगा हुँदै धादिङ जाँदै गरेको सूचनाका आधारमा सो क्षेत्रमा टोली परिचालन गर्दा बा ४९ प ३११२ नम्बरको पल्सर मोटरसाइकलमा सवार रहेको अवस्थामा प्रहरीलाई शंका लागेर खोजतलास गर्दा,' गृहमन्त्रीले सदनमा जवाफ दिए, 'निजले प्रहरीतर्फ गोली प्रहार गरेकाले प्रहरीले जवाफी कारबाही गर्दा मृत्यु भएको हो ।'
गृहमन्त्री गौतमले अधिकारी २०६२ सालदेखि नै विभिन्न अपराधमा संलग्न रहेको र केही अभियोगमा सजायसमेत भुक्तान गरिसकेको जानकारी गराएका छन् ।
अधिकारीमाथि काठमाडौं जिल्ला अदालतमा हातहतियार खरखजाना मुद्दा, काठमाडौं जिल्ला अदालतमै सवारी अंगभंग मुद्दा विचाराधिन रहेको गृहमन्त्रीको भनाइ थियो । धादिङका चार जना एमाले सभासद्ले बिहीबारको बैठकमा अधिकारीको मृत्यु प्रकरणबारे गृहमन्त्रीको जवाफ माग गरेका थिए ।
गम्भीर फौजदारी अभियोगमा मुद्दा विचाराधिन रहेको अवस्थामा अधिकारीमाथि राधाकृष्ण भण्डारीलाई २०७० पुस १४ गते काठमाडौंको वनस्थलीमा धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको अभियोग रहेको गृहमन्त्रीले बताए ।
हरिप्रसाद काफ्ले शर्मासँग ज्यान मार्ने धम्की दिएर रकम असुल गर्न खोजेको तथा अपहरण प्रयास गरेको, नवराज अधिकारीसँग रकम माग गरेको र अवैद्य हातहतियार भित्र्याएको भन्ने उजुरीको आधारमा प्रहरीले खोजी गरिरहेको अवस्थामा अधिकारीको मृत्यु भएको गृहमन्त्रीले बताए ।
गृहमन्त्री गौतमले अधिकारी प्रकरणबारे गृहमन्त्रालयले विस्तृत सूचना संकलन गर्ने काम गरिरहेकोसमेत जानकारी दिए । 'सो प्राप्त भएपछि थप कारबाही गरिने' गृहमन्त्रीले बताए ।
आपराधिक कृयाकलापमा संलग्न अधिकारीको साउन २१ गते साँझ ५ बजे काठमाडौं भीमढुंगामा जवाफ फायरिङमा मारिएको प्रहरीको दाबी थियो ।
एमाले सभासद् पाण्डेको आपत्ति
धादिङका क्षेत्र नं. ३ का एमाले सभासद् राजेन्द्रप्रसाद पाण्डेले घटना नियोजित रहेको दाबी गर्दै त्यत्तिकै नसकिने चेतावनी दिए ।
सभामुखले बोल्ने अनुमति नदिए पनि गृहमन्त्रीले जवाफ दिएलगत्तै जुरुक्क उठेका पाण्डेले गृहमन्त्रीको जवाफले समाधान ननिस्कने बताए । 'एउटा नागरिक मारिएको छ । गृहमन्त्रीले प्रहरीको रिपोर्ट यहाँ आएर प्रस्तुत गर्नुभएको छ,' पाण्डेको चेतावनी थियो, 'यो घटना यत्तिकै सकिनेवाला छैन ।'
पाण्डेले कुनै झडपमा अधिकारीको मृत्यु नभएको दाबी गरे । 'यो कुनै झडपमा भएको घटना होइन,' उनले भने, 'प्रहरीले नियोजितरुपमा हत्या गरेर त्यहाँ लगेर फालिएको हो ।'
सभामुख-पाण्डे सवाल जवाफ
गृहमन्त्रीको जवाफमा आपत्ति जनाउँदै बोल्ने तम्सिएका सभासद् पाण्डेलाई सभामुख नेम्वाङले अनुमति दिएनन् ।
उपप्रधानमन्त्रीले दिएको जवाफमा तुरुन्तै प्रतिवाद गर्न नमिल्नेतर्फ सभामुख नेम्वाङले ध्यानाकर्षण गराए । तर पनि पाण्डे कुर्सीमा बसेनन् । 'नियमापत्ति हो भने सभामुखलाई जानकारी गराउनुपर्छ,' सभामुखले नियमतर्फ ध्यानाकर्षण गराए, 'उपप्रधानमन्त्रीको धारणामा तत्कालै प्रतिवाद गर्न नियम छैन ।'
अघिल्लो सिटमा रहेका एमाले बरिष्ठ नेता झलनाथ खनालले पनि पछाडि फर्केर बस्न आग्रह गर्दा पनि पाण्डे रोकिएनन् । संसदीय दलका नेता केपी शर्मा ओली भने बैठकमा थिएनन् ।
पाण्डे अझै बोलिरहे । 'यो कुनै झडपमा भएको घटना होइन सभामुख महोदय ∕ प्रहरीले नियोजितरुपमा हत्या गरेर त्यहाँ लगेर फालेको हो,' बीच बीचमा पाण्डेले भन्दै थिए ।
करिव पाँच मिनेको सवाल जवाफमा भन्नुपर्ने धेरै कुरा पाण्डेले भनिसकेका थिए । सभामुखले माइक खोलेनन् । 'यो घटना यत्तिकै सकिनेवाला छैन,' पाण्डेले यसो भनेपछि एमाले सभासद्हरुले कुर्सी ठोके । लगत्तै सभामुखले भने, 'घूमाउरोगरी भन्ने कुरा भनिहाल्नुभयो बसौं माननीय सदस्य ।' पाण्डे कुर्सीमा बसे ।
अधिकारी समर्थक दर्शकदीर्घामा
व्यवस्थापिका संसद् बैठकको दर्शकदीर्घामा अधिकारी समर्थक पनि देखिए । एमाले सभासद् पाण्डेले सभामुखको अनुमतिबिना पनि धारणा राखेपछि दर्शकदीर्घामा रहेका ४-५ जनाले ताली मिटे । दर्शकदीर्घामा समर्थन र विरोधका कृयाकलाप गर्न पाइन्न । लगत्तै मर्यादापालकले उनीहरुले बाहिर निकाले ।
0 comments