कमलाको पूर्वी तटबन्ध भत्कियो, सयौँ घर डुबानमा
गोलबजार (सिरहा), श्रावण २९ - जिल्लाको पश्चिमवर्ती गाविस सारश्वर डुबानमा परेका छन् । दुई दिनदेखि परेको वर्षाका कारण कमला नदीमा आएको बाढीले पूर्वी तटबन्ध भत्काएपछि सारश्वर डुबान परेका हुन् ।
सारश्वर–१ र २ का करिब ६० घर डुबानमा परेको स्थानीय विमल गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय बौका दफाली, चन्द्रकुमार ठाकुर, सञ्जय साहलगायतको घरमा पानी पसेको छ । उनीहरू सबै विस्थापित भएका छन् ।
स्थानीय विमल गुप्ताले भने–“आज बिहान ६ बजे आएको बाढीले गाउँ डुबायो । अहिले यहाँ भागाभाग भएको छ । सबै सुरक्षित स्थान खोज्न थालेका छन् ।” गाउँ डुबानमा परे पनि चारजना प्रहरी मात्र आएकाले उनीहरू केही गर्न नसकेको उनको भनाई थियो ।
मन्दिरमा पूजा गर्न शिवमन्दिर पुगेकी स्थानीय शिव साहको नाम नखुलेको ६० वर्षीया आमा गम्भीर घाइते भएकी छन् । उनलाई बाढीले बगाएको र स्थानीयले देखेपछि उद्धार गरिएको स्थानीय देवेन्द्र यादवले जानकारी दिए ।
यता जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले बाढीले गाउँ बगाएको सूचना पाएको र प्रहरी परिचालन गरिसकेको बताए ।
उनले भन्नुभयो–“कमलाको पूर्वी तटबन्ध नै भत्काएको सूचना पाएकाले चिकना, विष्णुपुर प्ररा, भोक्राहा लगायतका गाउँ पनि डुबानमा परेको हो । सबै ठाउँमा उद्धारका लागि प्रहरी परिचालन गरिसकेका छौँ ।” रासस
Category: news
0 comments