भिटामिनका भित्री कुरा यस्ता छन्
अघिकांश बिरामीले चिकित्सकसँग भेट्नासाथ डाक्टरसाब म त धेरै नै कमजोर भएँ, मलाई भिटामिन दिनुहोस् न भनेर आग्रह गरेको पाइन्छ। बिरामीलाई लागिरहेको हुन्छ, कमजोर भएको बेला भिटामिन खाएमा सबै समस्या हल हुन्छ। तर, उनीहरू भिटामिनको औषधि खानुहुन्छ कि हुँदैन, खायो भने स्वास्थ्यमा कस्तो असर पर्छ भन्नेमा अनभिज्ञ भएको पाइन्छ।
मुटुरोग विशेषज्ञ डा. ओम मूर्तिका अनुसार बिरामीले कुनै पनि रोगको उपचारका क्रममा आफूखुसी भिटामिन प्रयोग गर्ने क्रम बढ्दै गएको छ। कुनकुन अवस्थामा भिटामिन खानुपर्छ भन्नेबारे बिरामी र बिरामीको हेरचाहमा खटिने व्यक्तिलाई थाहा हुन जरुरी भएको उनको भनाइ छ। चिकित्सक भिटामिनका सबै औषधि सुरक्षित हुन्छन् भन्ने आफूहरूसँग कुनै आधार नभएको बताउँछन्। यसको पनि साइड इफेक्ट हुने गर्छ। त्यसैले कमजोर भएको अनुभव हुनासाथ भिटामिन प्रयोग गर्नु राम्रो होइन।
कहिलेकाहीँ भिटामिनको मात्रा बढी भएर पनि समस्या हुनसक्छ भन्ने थाहा पाइराख्नु जरुरी छ। किनभने धेरैजसो अवस्थामा रगतमा भिटामिनको कमी भएको जाँच नगरीकनै लेखिने चलनसमेत बढेको छ। डा. मूर्तिका अनुसार शरीरमा भिटामिन कमी भएको पत्ता नलगाई खानु राम्रो होइन।
प्राध्यापक डा. रमेशकान्त अधिकारी भन्छन्, 'कुनै पनि औषधि आवश्यकता नभई खानु भनेको ज्यानलाई जोखिममा पार्नु हो। यसले दीर्घकालीन असर पनि गर्नसक्ने भएकाले सचेत हुनुपर्छ।' कुपोषणबाट ग्रसित बिरामी, धेरै दिनदेखि बिरामी भएर अस्पतालमा बसिरहेका, एन्टिबायोटिक धेरै खाएका, लामो समयदेखि पेटको समस्या भएर आन्द्राको शोषण क्षमतामा कमी भएका र पोषण तत्त्वको कमी भएका आदि बिरामीले मा
त्रै भिटामिन खान जरुरी रहेको उनको भनाइ छ।
डा. मूर्तिद्वारा लिखित 'म पनि डाक्टर' शीर्षकको पुस्तकमा भनिएको छ, 'एउटा बिरामी जब ओपीडीमा जँचाउन आउँछ, भिटामिनको आवश्यकता भएको अवस्था मेरो जानकारीमा दुर्लभ नै हो। भिटामिनको प्रयोग बढी हुनुमा बिरामीको पनि उत्तिकै हात भएको हाम्रो धारणा छ। त्यसैले बिरामी र डाक्टर दुवैले भिटामिनको उचित प्रयोगका लागि एकअर्कालाई सहयोग गर्नुपर्छ।'
कुन समस्यामा कुन भिटामिन उपयुक्त ?
क्याल्सियम : हाडजोर्नीको समस्यामा
आइरन : रगत कम भएमा
भिटामिन डी : भिटामिन डी कम भएमा
भिटामिन इ : भिटामिन इ कम भएमा
बी कम्प्लेक्स : भिटामिन बी कम भएमा
मेथाइलकोबालामिन : भिटामिन बी कम भएमा
Category: FEATURE, health, life style
0 comments