मोदीले कालापानी र सुस्ताको सीमा विवाद समाधानको लागि काम गर्ने सहमति

6:59 AM | 0 comments


narendra modi
काठमाडौं, श्रावण १९ - दुई दिने भ्रमण पूरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार साँझ स्वदेश प्रस्थान गरेका छन् ।
७५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका भारतीय प्रधानमन्त्री मोदी साँझ ५ बजेर ५३ मिनेटमा स्वदेश फर्केका हुन् । मोदीलाई त्रिभूवन विमानस्थलमा प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाललगायतले बिदाइ गरे ।
मोदी स्वदेश र्फकनेबेला बौद्धस्थित होटल हृयातबाट चाबहिल, गौशाला, सिनामंगल हुँदै तीनकुनेसम्म सवारी रोकिएको थियो । करिव डेढ घण्टा त्रिभूवन विमानस्थलबाट कुनै पनि जहाज आउजाउ भएनन् ।
मोदी स्वदेश र्फकनुअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दीनले होटल हृयातमा पत्रकार सम्मेलन गरी भ्रमण सफल भएको बताए । उनले आइतबार संसदमा व्यक्त भारतीय प्रधानमन्त्री मोदीका विचार स्पष्ट रहेको बताउँदै उनले दलका नेताहरुसँगको भेटमा पनि संविधान लेखनका लागि प्रेरित गरेको बताए ।

कोइरालालाई भारत भ्रमणको निम्तो
दुई दिने नेपाल भ्रमण सकाएर स्वदेश फर्किने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी सुशील कोइरालाई भारत भ्रमणको निम्तो दिएका छन् ।
मोदीको निम्तोलाई प्रधानमन्त्री सुशील कोइरालाले स्वीकारेको र आपसी समझदारीमा भ्रमणको मिति तय गरिने मोदीको नेपाल भ्रमणबारे जारी गरिएको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।
भारतीय प्रधानमन्त्री मोदीले आफू आउनु अघिल्लो दिन सिन्धुपाल्चोकको माङ्खा गाविसमा भएको पहिरोले भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । दुवै देशबीच यस्ता प्राकृतिक विपत्तिको सामना गर्न एक अर्कालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको विज्ञप्तीमा जनाइएको छ ।
मोदी भ्रमणको क्रममा नेपाली पक्षले नेपाल-भारत व्यापारमा नेपालले घाटा व्यहोर्दै आएकाले केही तरकारी, पस्मिनालगायत वस्तुमा कर छुट दिन आग्रह गरेको थिया । नेपालले जलविद्युत उत्पादन गरी भारतलाई बेचेर व्यापार घाटा कम गर्न सुझाएको विज्ञप्तीमा उल्लेख छ ।
मोदी भ्रमणको क्रममा पूर्वसहमति अनुसार ५ स्थानमा क्रस बोर्डर रेलमार्गको कामलाई तीव्रता दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिने र दुई देशबीच हुने व्यापारलाई संयोजन गर्न संयुक्त चेकपोष्ट स्थापनाको काम अघि बढाउने सहमति भएको छ ।
नेपाली पक्षको आग्रह अनुसार भारतले रक्सौल-अमलेखगञ्ज पाइपलाइन बिछ्याउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । दोस्रो चरणमा पाइप लाइनलाई काठमाडौंसम्म ल्याउने सहमति भएको विज्ञप्तीमा जनाइएको छ ।
दुई देशबीच हुलाकी राजमार्गको कामलाई तीब्रता दिएर एक बर्षभित्र दोस्रो चरणको काम थाल्ने सहमति भएको छ । नेपाल सरकारले गर्ने दोस्रो चरणको काममा भारतले आर्थिक सहयोग गर्ने विज्ञप्तीमा जनाइएको छ । भारतीय प्रधानमन्त्रीले भारतको सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाको कामलाई तीब्रता दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् ।
सरकारले मध्य पहाडी राजमार्गको निर्माणको लागि भारतलाई आग्रह गरेको छ । नेपाल सरकारको आग्रहलाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको विज्ञप्तीमा भनिएको छ ।
भारतले महाकाली नदिमा सवारी साधन आवतजावतको लागि पुल बनाउन सहयोग गर्ने आश्वासन दिएको छ । महाकालीमा पुल बने नेपालको सदुर पश्चिम र भारतको उत्तर प्रदेश, दिल्ली र उत्तरखण्ड आवतजावतमा सजिलो हुनेछ ।
दुईदेश बीच माथिल्लो कणर्ालीको परियोजना विकास सम्झौता -पीडीए) र ऊर्जा विकास सम्झौता -पीटीए) ४५ दिनभित्र गर्ने सम्झौता भएको छ । त्यसै अनुसारको तयारी अघि बढाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिइएको छ । दुवै देशले अरुण तेस्रो, माथिल्लो मर्स्याङ्दी र तामाकोसी तेस्रोको लागि पनि परियोजना विकास सम्झौता गर्ने इच्छाएको विज्ञप्तीमा भनिएको छ ।
दुवै देशबीच पञ्चेश्वर परियोजना एक बर्षभित्र सुरु गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । दुई देशको प्रधानमन्त्रीको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा ६ महिनाभित्र परियोजनाको लागि पदाधिकारी नियुक्त गर्ने र एक बर्षभित्र योजना कार्यान्वयन गर्ने उल्लेख छ ।
भारतले नेपाल-भारत मैत्री शिक्षा अन्तर्गत विद्यार्थीलाई भारतको विभिन्न विश्वविद्यालयमा दिंइदै आएको छात्रवृत्ति कोटा १८० बाट २५० पुर्‍याइने बताइएको छ ।
नेपाल-भारतबीच बुद्ध सर्किट स्थापनाको लागि नेपाल सरकारको प्रस्ताव अनुसार सहयोग गर्न भारतले प्रतिबद्धता जनाएको छ । साथै, उसले जनकपुर, बराहक्षेत्र र लुम्बिनी विकासको लागि सघाउने आश्वासन दिएको छ ।
भ्रमणको अन्तिम दिन पशुपति मन्दिर दर्शनका लागि पुगेका मोदीले पशुपति बृद्धाश्रमको स्तरोउन्नति र पशुपति क्षेत्रकेा संरक्षणको लागि समेत सहयोगको प्रतिबद्धता जनाएका छन् ।
दुई देशबीच सीमास्तम्भ र दशगजा क्षेत्रमा रहेको विवाद समाधान गर्ने सहमति भएको छ । दुई देशको संयुक्त आयोगको वैठकले निर्णय गरे अनुसार कालापानी र सुस्ताको सीमा विवाद समाधानको लागि काम गर्ने सहमति भएको छ ।

नेपाल-भारतबीचको सन् १९५० को सन्धी पुनरावलोकन गर्ने विषयमा समेत दुई देशबीच सहमति भएको जारी संयुक्त विज्ञप्तीमा उल्लेख छ । यसअघि दुवै देशको विदेश मन्त्रीको नेतृत्वमा बसेको संयुक्त आयोगको वैठकले नेपालले भारतलाई पुनरावलोकन मस्यौदा पठाउने सहमति गरेको थियो ।

Category: ,

0 comments